“नो सेभ नोभेम्बर ( No Shave November ) अभियानमा दारी ग्याङ”
– बसन्त पहारी, दारी ग्याङ
” नो सेभ नोभेम्बर ( No Shave November ) अभियानमा दारी ग्याङ “
अभियानको लक्ष्य :
नो सेभ नोभेम्बर अभियानको मुख्य लक्ष्य भनेको हाम्रो दारी कपालसँग जोडेर क्यान्सर बारे सचेतना बढाउनु हो । धेरै क्यान्सर बिरामीहरूले क्यान्सरको मुख्य उपचार विधी केमोथेरापी बाट गुमाउने कपालसँग जोडिएको यस अभियान अन्तर्गत नोभेम्बर महिना भर पुरुषहरुले दारी, जुंगा तथा कपाल नकाटिकन क्यान्सरको रोकथामको बारेमा सचेतना शिक्षा दिने र क्यान्सर रोग संग लडिरहेकाहरुलाई आर्थिक सहयोग गर्छ्न। यस अभियानमा जोडिने महिलाहरुले एक महिना कपाल मिलाउन खर्च हुने पैसा संकलन गरेर सहयोग गर्ने गरेका छन। साथै, एक महिनाभर पालिएको कपाल तथा दारी महिनाको अन्त्यमा काटेर नक्कली कपाल तयार गराई कपाल गुमाएका क्यान्सर पिडितहरुलाई दिने गरेको पनि देखिएको छ ।
ईतिहास :
सुरुमा पुरुषहरुमा केन्द्रित भई सन् २००३ मा अष्ट्रेलियाबाट एक अभियान सुरु भयो । जस अन्तर्गत नोभेम्बर महिना भरी आफ्नो जुँगा नकाट्ने र यसबाट संकलित रकम पुरुषहरुको स्वास्थ्य सम्बन्धी कार्य अन्तर्गत प्रोस्टेट क्यान्सर ,टेस्टिकुलर क्यान्सर तथा पुरुषको मानसिक स्वास्थ्य र आत्महत्या रोकथाममा खर्च गरिएको थियो । सो समय अष्ट्रेलियाका ३०जना साथीहरु मिलेर नोभेम्बर महिना भरी एकसाथ जुँगा पालेर सुरु गरिएको यस अभियानलाई बिस्तारै बिकसित गरि जुँगाको अंग्रेजी शब्द ‘moustache’ र ‘november’ शब्दको मिश्रणबाट ‘Movember’ नामाकरण गरि “मुभेम्बर च्यारिटि” को नाममा च्यारिटी फाउन्डेसन नै खडा गरि आर्थिक सहयोग संकलन गरिएको थियो। फाउन्डेसनले अहिले क्यान्सर सचेतनाका लागि आर्थिक सहयोग संकलन गर्न सक्ने विश्व मान्यता प्राप्त गरिसकेको छ।
नो सेभ नोभेम्बरको दारी कपाल पाल्ने प्रसंग भने अमेरिकाको शिकागो सहरको एक “हिल” परिवारसँग जोडिएको छ । सन् २००७ मा कोलोन क्यान्सरका कारण आफ्ना बाबु गुमाउन परेको शिकागो सहरको यो परिवारमा आफ्ना बाबुको मृत्यु पछि उनका ८ सन्तानले सन् २००९ मा No Shave November भन्ने फेसबुक अभियान सुरु गरि क्यान्सर पीडितको सहयोगका लागि संस्था नै दर्ता गरेर सञ्चालित यो अभियान पछिल्लो १० वर्षमा थुप्रै देशहरुमा विस्तार हुँदै गएको देखिन्छ । सन् २०१३ मा अमेरिकन क्यान्सर सोसाइटी संग सहकार्य गरेर यो अभियानले क्यान्सर रोकथामका लागि १० लाख डलर भन्दा बढी संकलन गरिसकेको छ।
नेपालमा नो सेभ नोभेम्बर अभियान:
सन् २०१६ मा रमाइलोका लागि मात्र खोलिएको युवाहरु सम्मिलित फेसबुक समूह दारी ग्याङ पछिल्ला वर्षहरुमा देश तथा समाज रुपान्तरणका लागि विभिन्न सामाजिक काम हरु गर्दै आइरहेको छ। दारी ग्याङ पनि प्रत्यक्ष दारी संग जोडिएको समूह भएको हुनाले नेपालमा पनि नो सेभ नोभेम्बर अभियान अन्तर्गत दारी ग्याङले क्यान्सर संग सम्बन्धित रहेर विभिन्न किसिमका कामहरु गर्दै आइरहेको छ।
सन् २०१७ को नोभेम्बर महिना (बि. सं. २०७४)मा दारी ग्याङ सदस्य तथा नायक प्रदिप खड्कासँगको सहकार्यमा क्यान्सर पिडितहरुको सहयोगार्थ नो सेभ नोभेम्बर अभियान गरिएको थियो । नायक खड्का ब्रान्ड अम्बेसेडर रहेको “नोभेम्बर जिन्स” कपडा ब्रान्डको सहयोगमा नोभेम्बर महिना भरी दारी ग्याङका सदस्यहरुको फेसबुकको प्रोफाइल पिक्चरमा सोही अभियान र ब्रान्डको फ्रेम राखिएको थियो र प्रती फ्रेम बापत रु १०० का दरले नोभेम्बर जिन्स बाट प्रायोजन गरिएको एक लाख सात हजार रकमबाट क्यान्सर पिडितका लागि सहयोग गरिएको थियो । यस अन्तर्गत भक्तपुर अस्पतालमा आवश्यक १० थान बेड वार्मर, १ थान एलइडी टिभी र साउण्ड सिस्टम प्रदान गरिएको थियो भने भरतपुर क्यान्सर अस्पताल, चितवनमा क्यान्सर पिडित बालबालिकाहरुका लागि पार्क निर्माणार्थ तीस हजार नगदको चेक डाक्टर सोसाईटी अफ नेपालकि महासचिव डा. तोसिमा कार्कीलाई हस्तान्तरण भएको थियो ।
अर्को बर्ष सन् २०१८ (बि. सं. २०७५)मा यसै अभियानलाई आत्मसाथ गर्दै दारी ग्याङबाट पोखरामा पनि नोभेम्बर महिनाभर दारी, कपाल काट्दा हुने खर्च बचाउने अवधारणा अनुरुप रकम संकलन भएको थियो । एक जना क्यान्सर पिडितलाई हस्तान्तरण गर्न संकलन गरिएको रकम हस्तान्तरण अगावै उनको निधन भएकोले उक्त रकम नगद रु.१०,००० श्री नवीन माध्यमिक बिद्यालय, गैह्रापाटन, पोखरामा अध्ययनरत आर्थिक स्थिती कमजोर भएकी एक जना छात्रा रुबिना नेपाललाई हस्तान्तरण गरिएको थियो ।
सन् २०१९ (वि.सं. २०७६) मा नो सेभ नोभेम्बर अभियान “क्यान्सर पहिचान, शिघ्र समाधान” भन्ने मूल नाराका साथ नेपालभरी क्यान्सर जनचेतनामूलक कार्यक्रम गरि मनाइएको थियो।
दारी ग्याङ र क्यान्सर विरुद्ध नेपाली युवाले देशैभर क्यान्सर जनचेतनामूलक कार्यक्रम संयुक्त रुपमा आयोजना गरेको हो। मोरङ, काभ्रे, काठमाडौं, चितवन, नवलपुर, रुपन्देही, कास्की र कैलाली गरि ८ जिल्लाका १५ वटा विद्यालय/कलेजमा अध्ययनरत १५०० भन्दा बढि विद्यार्थीहरु माझ १६ वटा विभिन्न संघसंस्थाहरु संगको सहकार्यमा उक्त कार्यक्रम गरिएको हो।
कार्यक्रममा विश्वभर मनाइने नो सेभ नोभेम्बर अभियान, क्यान्सर रोगका लक्षण , रोकथाम, बच्ने उपायहरु, नेपालमा क्यान्सर रोगको तथ्यांक लगाएतका विषयमा विद्यार्थीहरुलाइ जानकारी प्रदान गरिएको थियो।
यसै गरि दारी ग्याङले देशभर चलाएको क्यान्सर सम्बन्धि जनचेतनामूलक कार्यक्रम अवधीमा देश बाहिर सक्रिय कतार दारी ग्याङको तर्फबाट दारीको हेरचाहमा लाग्न सक्ने खर्च कटौती गरि संकलित एकमुष्ट रकम रु १५,००० र काठमाडौंको तर्फबाट थप संकलित रकम रु १०,००० गरि जम्मा रु २५००० रकम रक्त क्यान्सरबाट पिडित दारी ग्याङका सक्रिय सदस्य मचाकाजी महर्जनका ५ बर्षिय सुपुत्रको उपचारको सहयोगको लागि छुट्याइएकोमा २०७६ माघ ११ गते एक कार्यक्रम बीच हस्तान्तरण गरिएको थियो।
नेपालभर ३० भन्दा बढी जिल्लाहरुमा दारी ग्याङ विभिन्न सामाजिक क्रियाकलापमा सक्रिय रहँदै आएको छ।नेपालमा अहिले पुरुषहरुमा मुख, फोक्सो र कलेजोको क्यान्सर बढी मात्रामा देखिएको छ भने महिलाहरुमा स्तन र पाठेघरको क्यान्सर बढी देखिने गरेको छ। स्वस्थ जीवन जिउने र वर्षको एकचोटी नजिकैको स्वास्थ्य संस्थामा क्यान्सरको स्कृनिङ टेस्ट जस्तै म्यामो, प्याप, आदि जांच गर्ने हो भने क्यान्सर लागे नलागेको थाहा पाउन र लागेपनी सुरुवाती चरणमै निर्मुल पारी स्वास्थ्य लाभ लिनुका साथसाथै महँगो उपचार विधीबाट पनि छुटकारा पाउन सकिन्छ।